“ केल्ले मलाई सुहायो” गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालको प्रश्न

साउन १४, काठमाडौं — तीज नजिकीदै गर्दा कलाकारहरुले आफ्नोे सिर्जना बजारमा ल्याउने क्रम बढिरहेको छ । गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालले पनि तीजकोे कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् ।

“पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले केल्ले मलाई सुहायो रातो टिकीले” बोलको सो गीतमा मौलिक शव्द चयन मात्रै हैन, यस्ता टुक्काहरुले उनको गीतलाई अझै सुगन्धित र मिठो बनाएको छ ।  गितमा लेखिएका यी यस्ता टुक्काहरुले नेपाली समाजको परम्परा र लोक संस्कृतिलाई जिवित राख्न मद्धत पुग्ने उनको भनाई छ ।

सिर्जनाको स्वरमा सजिएको उक्त गीतमा उनकै लय तथा संगित रहेको छ । गीतको म्यूजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् भने मिराज अर्यालले छायाँकन गरेका छन् । भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाङको अभिनय रहेको छ । भिडियोलाई विवेक खड्काले सम्पादन गरेका हुन् ।

तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् ।

आफ्ना सिर्जनामा मौलिकता प्रस्तुत गर्ने क्रममा अघिल्लो वर्ष पनि उनले तीज गीत “माइतीको आँगनी” लाई सार्वजनिक गरेकी थिइन् । सो गीतलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए ।