अज्ञात समूहद्धारा वडा कार्यालयमा आगजनी, सामान जलेर नष्ट

साउन १२, काठमाडौं — अज्ञात समूहद्धारा डोटी जिल्लाकोे शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार अज्ञात समूहले शनिबार राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ ।

आगजनी किन, कस्ले र्गयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग¥यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए ।

विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ ।

अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ ।

रासस