साउन १२, काठमाडौं — आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएको छ ।यो सँगै सन् २०२० मा अस्ट्रेलियामा हुने टी(२० विश्वकप खेल्ने मौका गुमाएको छ ।
आइतवारको अन्तिम खेलमा आयोजक सिंगापुरसँग नेपाल ८३ रनले पराजित भएपछि ग्लोबल क्वालिफायरमा छनौट हुन असफल भएको हो ।
आजको खेलमा सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछाएको नेपाल १५ ओभरमा १०८ रन बनाउदा अल आउट भएको थियो ।
जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी(२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो ।
नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।
त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले २५ रन खर्चेर ४ विकेट लिए । यस्तै भिनोद भास्करणले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।
सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन जोड्दा मनप्रित सिंहले ४२ रन जोडे ।
नेपालका अविनास बोहराले ४ विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालका बसन्त रेग्मी महंगा साबित भए । उनले ४ ओभरमा ५४ रन खर्चेर विकेट लिन सकेनन् । यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए ।