साउन १०, काठमाडौ— नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बस्दै छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न १४ वटा एजेन्डामा माथि छलफल हुँदैछ ।
हिजोदेखि सुरु भएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनेबारे छलफल सुरु भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषयमा आज पनि छलफलले निरन्तरता पाउने बताए ।
बैठकमा अन्तरिम संरचना कसरी बनाउने, पहिला कुन तहको संरचना निर्माण गर्ने, कुन समयमा बनाउने, निर्वाचन समितिलाई कसरी जिम्मा लगाउने, त्यसको प्रगति के कसरी लिने भन्ने बारेमा नेताहरुले आ–आफ्नो धारणा राख्दै छन् ।
महासमिति बैठकबाट पारित भइ फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ । ती सबै संरचना कसरी बनाउने भनेर नेताहरुले हिजोदेखि नै आफ्ना धारणा राखिरहेको प्रवक्ता शर्माले बताए ।
महामन्त्री खड्काले गत असार २२ गते नै बैठकमा एजेन्डा पेश गरेका थिए । तर, मुलुकका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुवानका कारण बैठक स्थगित भएपछि हिजोदेखि पुनः सुरु भएको हो ।
संघीय संरचनाअनुसारकै पार्टी संरचना बनाउने विषयमा कांग्रेसमा केही मतभेद देखिँदै आएको छ । मनोनयनमार्फत अन्तरिम संरचना बनाएर अघि बढ्ने कसरतमा संस्थापन पक्ष छ । तर त्यसको विरोध गर्दै संस्थापन इतर पक्ष भने मनोनयन गर्न नहुने अडानमा छ ।
सबै संरचना प्रजातान्त्रिक व्यवस्थाअनुरुप चुनावमार्फत निर्माण गर्नुपर्ने संस्थापन इतर पक्षले माग गर्दै आएका छन् । बैठकमा पनि यही विषयमा गम्भीर छलफल भइरहेको छ । भदौ २४ गतेदेखि सुरु हुने भनिएको दोस्रो चरणको जागरण अभियान अगावै अन्तरिम संरचना निर्माण गरिसक्ने कांग्रेसले तयारी अघि बढाएको छ ।
महामन्त्री खड्काले गत असार २२ गते नै बैठकमा एजेन्डा पेश गरेका थिए । तर, मुलुकका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुवानका कारण बैठक स्थगित भएपछि हिजोदेखि पुनः सुरु भएको हो ।