संसद् भवन भित्र ढलको पानी पसेपछि प्रदेश १ को संसद् बैठक स्थगित

साउन ९, काठमाडौं — लगातारको बर्षाका कारण भवनभित्र ढलको पानी पसेपछि प्रदेश १ को संसद् बैठक स्थगित गरिएको छ ।

सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकले चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो।

बुधबार बिहानबाट वर्षा भइरहेका कारण यस्तो अवस्था आएको प्रदेशसभा सचिवालयले जनाएको छ । पुराना संरचनाको पनि उचित मर्मत सम्भार नहुँदा वर्षाका बेला ढल र शौचालयको हज भरिएको पानी छिरेर दुर्गन्ध समेत फैलिएको थियो ।

बैठक साउन १९ गतेसम्मका लागि स्थगन गरिएको छ।