साउन ७ , काठमाडौ — नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई सुदृढ गराउन विज्ञापन नीति महत्वपूर्ण विधेयकको रुपमा रहेको बताएका छन् ।
मंगलबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले देशको सार्वभौमसत्तालाई ध्यान दिँदै सरकारले बिधेयक ल्याएको बताए ।
नेपालमा हाल विज्ञापनको बजार औपचारिक र अनौपचारिक गरी करिब ३० अर्बको रहेको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न पनि विज्ञापन नियमन सम्बन्धी विधेयक आवश्यक रहेको बताए । साथै विज्ञापन नीतिलाई संविधानको भावना र राष्ट्रको विकासलाई ध्यान दिएर अघि बढाउनुपर्ने बताए ।
देश राजनीतिक रुपले स्वतन्त्र भएपनि तर आर्थिक रुपले धेरै नै पराधीन रहेको बताउदै आर्थिक स्वतन्त्रतालाई स्थापित गरेर जानुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले बिज्ञापन नीतिका बारेमा विज्ञहरुको सुझाव लाभदायक भएको बताउदै ऐनहरु निर्माण गर्दा व्यवस्थित, परिमार्जित ढङ्गले गर्नुपर्ने बताए ।
मुलुकको सार्वभौमसत्ताका लागि पनि विज्ञापनसम्बन्धी विधेयकमा क्लिनफिडको व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ । मंगलबार समितिले क्लिनफिडका विषयमा विज्ञहरुसँग छलफल गरेको छ । समिति बैठकमा विज्ञको रुपमा आएका लक्ष्मण हुमागाईंले क्लिन फिड लागू नभए नेपालमाथि अहिले भइरहेको साँस्कृतिक अतिक्रमणले निरन्तरता पाउने बताएका थिए ।
विज्ञापनका आधारमा देशमा साँस्कृतिक अतिक्रमण भइरहेको बताउँदै उनले त्यसबाट हामी मुक्त हुन नसकेको बताए । उनले यसका लागि सक्रियता र पहलकदमी लिनुपर्ने बताउदै यो विधेयकलाई महत्वका साथ अघि बढाउन जोड दिए ।