सुरक्षित छैनन् फ्रि वाईफाई

साउन ४,काठमाडौं—   पछिल्लो समय इन्टरनेटको विस्तार व्यापक रुपमा विस्तार भएको छ । त्यस माथि स्मार्टफोनबाट इन्टरनेट चलाउनेहरुको संख्या पनि उल्लेख्य छ । प्रायः फ्रि वाइफाइ पाए झटपट आफ्नो मोबाइलमा कनेक्ट गर्ने धेरैको बानी हुन्छ । तर, यस्तो बानी राम्रो होइन ।

सबै फ्रि वाइफाइ सुरक्षित हुँदैनन् । ह्याकरहरुले वाइफाइ राउटर कन्ट्रोल गर्न सक्छन् र डाटाको प्रयोग के कामका लागि भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । त्यसैले फ्रि वाइफाइ खोजिरहेका मानिसहरु ह्याकरको फन्दामा सजिलै पर्ने सम्भावना हुन्छ ।

ह्याकरहरुले मिल्दो जुल्दो किसिमको नाम बनाउँछन् । यस्तोमा कुनै सही हुन्छ त कुनै नक्कली हुन्छ । यस्तोमा नक्कली फ्रि वाइफाइ पहिचान गर्नु निकै कठिन हुन जान्छ । नक्कली वाइफाइ चिन्नको लागी यहाँ केही उपायहरु छन् ः

१. यदि फ्रि वाइफाइको प्रयोग गर्नु छ भने आफ्नो व्यक्तिगत जानकारी दिनुपर्ने साइट नखोल्नुहोस् । बैंक अकाउन्ट, नागरिकता नम्बर, घरको ठेगाना जस्ता सूचना फ्रिमा कनेक्शन भएको साइटमा दिनु हुँदैन ।

२. नेटवर्क भेरिफाई गर्नुहोस् । कुनै क्याफे, एयरपोर्टजस्ता स्थानमा राखिएको फ्रि वाईफाइ साइटको आधिकारिक लगइन पेज हुन्छ । यदि यो देखिएन भने तपाइँले खोज्नुभएको फ्रि वाइफाइ त्यो नहुन पनि सक्छ ।

३. एचटीटीपीएस वेबसाइट्स मात्र सर्फ गर्नुहोस् । यदि एचटीटीपी मात्रै छ भने सर्फिङ गर्नु खतरानक हुनसक्छ ।

४. एन्टिभाइरसले पनि मोबाइलबाट चोरी हुनसक्ने केही डाटा बचाउन सक्छ । साथै कठिन पासवर्डको प्रयोग गर्नाले पनि ह्याक हुने सम्भावना कम हुन्छ ।

५. भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गर्नुहोस् । सार्वजनिक वाई–फाईमा यसले तपाइँलाई सुरक्षित राख्छ । यसले शुरुको विन्दुदेखि अन्तिमसम्म पनि सुरक्षित राख्छ ।

एजेन्सी