धनगढीमा आफैले बोकेकोे बम विस्फोट हुँदा एकको मृत्यू, ४ घाइते

साउन ३, धनगढी — विहीवार धनगढीको शहिद गेट नजिकै बम विस्फोटमा परि घाईते भएका राम सिंहको मृत्यू भएको छ ।
घटनामा गम्भिर घाईते सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको धनगढीका पत्रकार मिलन परियारले ईमेल खबरलाई बताए ।

कैलाली प्रहरीले आफैंले बोकेको बम विस्फोट भई मृत्यु भएका सिंहको कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको बताएको छ ।बझाङका स्थायी बासिन्दा सिंह विप्लवको कार्यकर्ता भएको प्रहरी भनाइ छ । उनको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको बताइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४, शहीद गेट नजिक नीलम होटलमा भएको बम विस्फोटमा परि ५ जना घाईते भएका थिए । घाईते मध्ये एकको मृत्यू भएको हो ।

घाइते अरु कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।