प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

असार ३०, काठमाडौं — प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । आज १ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो ।
सांसदहरू राहत र उद्धारका लागि जिल्ला जानुपर्ने भएकाले बैठक स्थगित भएको बताइएको छ । प्रतिनिधि सभा बैठकमा बाढी र पहिरो पीडितलाई पुनस्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्ने विषयमा छलफलका लागि कांग्रेस सांसद मिनेन्द्र रिजालले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
आज बिहानै सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा सहमति हुन नसकेपछि बैठक सूचनामार्फत् स्थगित गरिएको हो।