अस्पतालबाटै शिशु चोरी, दुई महिला पक्राउ

असार २६, काठमाडौं — धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई महिलाले नवजात शिशु चोरी गरेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामी तथा कुरुवा निदाएको समयमा नवजात शिशु चोरी गरेका हुन् ।

प्रहरीले शिशु चोरी गर्ने २ महिलालाई बिहीबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–५ देवी गाउँ बस्ने २७ वर्षिय लीला बिश्वकमा र भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने ४२ वर्षिय मीना लिम्बु बिश्वकर्मा रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी लीला बिश्वकर्मालाई पक्राउ गरेको थियो ।

विश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने ४२ वर्षिय मीना लिम्बु बिश्वकर्माको घरमा लुकाई राखेको अवस्थामा फेला पारेको हो । शिशुलाई लुकाई राखेको अवस्थामा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाएको छ ।

दुवै जनालाई शरीर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भोक्राह–नर्सिङ गाउँपालिका एककी बविता मोहतले गत असार १३ गते शिशुलाई जन्म दिएकी थिइन् । आमा र बच्चालाई गाईनो वार्डमा राखिएको थियो ।
अस्पतालमा उपचार भईरहेको शिशुलाई राति १२ २५ बजेको समयमा विरामी कुरुवाले नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।