असार २५,काठमाडौं — खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमा भएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता भएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ ।
सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् ।
शव फेला परेको खबर पाउने बित्तिकै हेलिकप्टरबाट सम्बन्धित स्थलमा पुगेका प्रहरी टोली सहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।
शवको पहिचान पछि जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पु¥याएर आफन्तलाई शव हस्तान्तरण गरेको छ ।
यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।
रासस