साउन १८, काठमाडौँ – नेपाल भ्रमणका लागि राजधानी आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलबाट बौद्धस्थित होटल हायात पुगेका छन् । नेपाल भ्रमणका क्रममा उनको निवास सोही होटलमा रहने परराष्ट मन्त्रालयले जनाएको छ ।
विमानस्थलबाट होटलसम्म उनलाई सुरक्षा निकायका विभिन्न टोलीले स्थलगत तथा नेपाली सेनाको हेलिकोप्टरले हवाइ स्कर्टिङ गरेको थियो । होटल हायातमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भ्रमणका विभिन्न पक्षबारे औपचारिकरुपमा जानकारी गराउने कार्यक्रम छ ।
सो अवसरमा परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी र नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत दुवै देशका विशिष्ट सरकारी कर्मचारीको उपस्थिति रहने कार्यक्रम छ ।
आजै अपराह्न प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा स्वागत तथा विना सहयोगी भेटघाट गर्ने कार्यक्रम छ ।