असार १८, काठमाडौं — नवलपरासीमा आज सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने राधिका अधिकारीलाई ठक्कर दिएको हो । ७५ वर्षीया पैदलयात्री अधिकारीलाइ बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
यस्तै मध्यविन्दु नगरपालिका–८ फूलबारीमा ना७ख ६८४१ नंको बसलाई ना७ख ६३ नंको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन् । घाइतेमध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।
सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
रासस