असार १६, काठमाडौँ — संखुवासभामा सोमबार बिहान सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।
प्रहरी सा्रेतका अनुसार सशस्त्र प्रहरी बलको नेतृत्वमा २५ जनाको टोली खटाइएको छ भने नेपाल प्रहरीले पनि २५ जनाको टोली पठाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत थप मद्दत टोली प्रदेश पठाइएको छ ।
सोमबार बिहान करिब साढे ९ बजे सिलिचोङ गाउँपालिका–१ ह्वाङलामा दुबैपक्षबीच गोली हानाहान भएपछि थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभा गएको हो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।