असार १३, काठमाडौं — इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।
चेस्टरमा हुने खेलमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ ः१५ मा सुरु हुनेछ । दुई टिम जितको खोजीमा हुनेछन् ।
सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । श्रीलंकाको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना रहेको छ । श्रीलंकाले ६ खेलमा ६ अंक जोडेको छ । श्रीलंका तालिकाको सातौं स्थानमा छ ।
विश्वकपको आशा कायम राख्न श्रीलंकालाई जित अत्यावश्यक रहेको छ । दक्षिण अफ्रिकासंग पराजित भए श्रीलंका विश्वकपबाट बाहिरिनेछ ।
दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक जोडेको छ । अंक तालिकाको नवौं स्थानमा छ । अबको खेल उसको प्रतिष्ठाको लडाईँ मात्रै हुनेछ ।
अहिले अंक तालिकाको सातौं स्थानमा रहेको श्रीलंकाले सेमिफाइनलमा स्थान बनाउनका लागि अबको सबै खेल जित्नु पर्ने हुन्छ ।