केवल व्यबसायीको चेतावनी —क्लिन फिड लागु भए व्यवसाय बन्द गर्छौं

असार ११, काठमाडौं — केवल व्यबसायीहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए व्यबसाय नै बन्द गरिने चेतावनी दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए ।

उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’

उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकारसामू आग्रह गरे । आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे । उनले भने,‘यसरी हुँदैन्, बरु सोलुशन खोजौं ।’ व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए ।