महाधिवेशनबाट पछि नहट्न पार्टी नेतृत्वलाई चेतावनी

असार ९, काठमाडौं — नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने बताए । यदि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने प्रयास भए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पार्टी नेतृत्वलाई चेतावनी दिए ।

नेता थापाले राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विधानमा नभएको कुरा नियमले परिर्वतन गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले नियममा चेन्ज गर्ने कुरा हुँदैछ भन्ने कुरा सुनेको जनाए । नेता थापाले सम्पूर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे । उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे।

अर्का नेता प्रदीप पौडेलले जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा शसक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले कांग्रेसलाई समर्थन गर्ने दाबी गरे ।
राजधानीमा सोमबार कृष्णप्रसाद सिटौला पक्षले समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषयमा गरेका अन्तरक्रियामा बोलने क्रममा गगन थापा र प्रदीप पौडलले महाधिवेशनलाई लिएर सो खबरदारी गरेका हुन ्।