देशको अर्थव्यवस्था ओरालो लाग्दो अबस्थामा

असार ५, काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्य अनुसार देशको अर्थतन्त्र घट्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा देशको अर्थव्यवस्था ओरालो लागेको देखिएको हो ।

रेमिट्यान्सको बृद्धिदर र विदेशी विनिमयको पनि सञ्चिती घट्दै जाँदा वैदेशिक व्यापार घाटा र मूल्यवृद्धि पनि बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति १.२ प्रतिशतले बढेको हो । २०७५को वैशाखमा ४.१ प्रतिशत रहेको मुद्रास्फीति २०७६ वैशाखसम्म बढेर ५.३ प्रतिशत पुगेको छ ।

सबैभन्दा बढी ६.१ प्रतिशत मुद्रास्फीति हिमाली भेगमा देखिएको छ । काठमाडौं उपत्यकामा ६.०५ प्रतिशत, पहाडमा ५.० प्रतिशत र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकमा छ ।

२०७६ बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ ।

२०७६ बैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो ।

त्यसैगरी भारतमा निर्यात बढ्ेको र चीनमा घटेको पाईएको छ । पछिल्लो १० महिनामा नेपालको वैदेशिक व्यापारघाटा १९.७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा कुल विदेशी विनिमय सञ्चिति करिब ४२ अर्ब रुपैयाँले घटेको देखिएको छ ।

२०७५ असार मसान्तमा ११ खर्ब ०२ अर्ब ५९ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिती वैशास मसान्तसम्म आइपुग्दा ४१ अर्ब ८९ करोड रुपैयाँले घटेर १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ कायम भएको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य ७.२ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका सुनको मूल्य २०७५ वैशाख मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३१९.८५ रहेकोमा २०७६ वैशाख मसान्तमा १.६ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२९८.४० कायम भएको छ ।

२०७६ वैशाख मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.९ प्रतिशतले अवमूल्यन भएको छ ।

Source : onlinekhabar