जेठ ३२, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री बातावरण रहेको भन्दै फ्रान्सेली ब्यबसायीहरुलाई लगानी गर्न आग्रह गरेका छन् ।
बुधबार फ्रान्सका ब्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले ओलीले नेपालमा राजनीतिक स्थायित्वका साथै कानुनी जटिलताको अन्त्य भएको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।
बेलायतको तीन दिने भम्रण सकेर भूमिगत रेल चढेर बुधबार दिउँसो पेरिस पुगेका प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघका अधिकारीहरुसँग छलफल गरेका थिए ।
फ्रान्सस्थित नेपाली दूतावासले समेत एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली कम्पनीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेको जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीसहितको भ्रमणटोलीलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी तथा नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरले संयुक्तरुपमा गार्ड दु नर्द स्टेसनमा स्वागत गरेका थिए ।