गुठीसम्बन्धी विधेयकका असन्तुष्टिको निकास खोज्न मानव अधिकार आयोगको अपिल

जेठ ३०, काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका असन्तुष्टिको वार्ताद्धारा निकास खोज्न सरकारलाई आग्रह गरेको छ ।

गुठीसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्नेहरुविरुद्ध सरकारले बल प्रयोग गरेपछि आयोगले बुधबार एक विज्ञप्तिमार्फत यसको निकास खोज्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका निर्देशक डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको रक्षा गर्न पनि आग्रह गरिएको छ ।
साथै घाइतेको स्वास्थ्य उपचार र दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याई वार्ता गर्न पनि आयोगको माग छ ।

सरकारले सङ्घीय संसद्मा दर्ता गराएको गुठीसम्बन्धीे विधेयक खारेजीको माग गर्दै जेठ २६ गते गुठीयारले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी घाइते भएका थिए ।