जेठ २२, काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापा विद्यार्थी राजनीतिबाट उदाएका हुन्। जनआन्दोलन २०६२/०६३ को समयमा उनी निकै चर्चामा रहे। उनको मातृ पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र भनिरहेको समयमा थापा र केही युवाले गणतन्त्रको माग गरे। ग
तपाईले गणतन्त्रबारे कतिबेला सोच्नु भएको थियो ?
जतिबेला गुरु घिमिरे, पुरुषोत्तमजी र मलाई राजद्रोहको मुद्दा लाग्यो। जेल प-यौं, त्यो बेलामा हामीबीच सघन छलफल पनि भयो। त्यतिखेर हामी गणतन्त्रबारे एउटा निष्कर्षमा पुग्यौं। तर, पार्टीभित्रको दबाबले अदालतमा राजसंस्था चाहिँदैन भनेर भन्न सकेनौं, भनेनौं। त्यसपछि हामी विद्यार्थी संगठनमा राजसंस्थाको सान्दर्भिकता कति भन्ने पहिलोपटक बहस चलायौं। पुस २७ गते हामी रत्नपार्कमा न्यूरोड सबैतिर -याली घुमेर आइसकेपछि रातो घरअगाडि मैले पहिलोपटक गणतन्त्रबारे बोलें। मैले त्यहाँबाट भने, ‘आजको मिति सबैले याद गरौं, समय अलिकति लाग्ला, अब नेपालमा गणतन्त्रभन्दा अर्काे विकल्प छैन। गणतन्त्रभन्दा अरु हामी मान्दै मान्दैनौं।’ कोणसभामा यसोभन्दा भागदौड मच्चिएको म सम्झन्छु। सुरुमा त्यसरी अघि बढियो र पछि शब्द र विचार निर्माणका हिसाबले गणतन्त्र भन्दै आयौं। राजतन्त्रको जगजगीको बेला थियो, गणतन्त्र भन्नेबित्तिकै माओवादीको आरोप लाग्थ्यो।
गणतन्त्रको मुद्दा उठाउँदा तपाईलाई डर लागेन ?
त्यो आन्दोलनको बहावमा लाग्दैगर्दा कस्तो भइसकेको थियो भने डरलगायत सबै कुरा गइसकेको थियो।
पार्टीले पनि तपाइलाईहरूलाई कारबाही ग-यो नि?
पार्टीले कारबाहीभन्दा पनि नेतृत्वले त्यो कुरा मन पराएन। पार्टीको नेतृत्व त्यो बेलामा दबाब बढोस् तर विचार चाहिँ नबनोस् भन्ने पक्षमा थियो। नारामा आउनु र विचार बन्नु फरक कुरा हो। यसकारण एउटा बिन्दुमा राजासँग वार्ता हुन्छ, फर्किने ठाउँ हुन्छ भन्ने थियो। हामीले नारा लगाउँदा, हल्ला गर्दासम्म पार्टीले केही भनेन। तर गणतन्त्र नै चाहिन्छ भनेर बोल्दा नेतृत्वले हामीलाई मन पराउन छोड्यो। पार्टीको पनि कोपभाजनमा परियो, अर्काेतिर सत्ता समूह छँदै थियो। दोहोरो चेपुवामा परें।
गणतन्त्रको नारा दिनेबित्तिकै पार्टी बाहिर चाहीँ एकाएक चर्चामा आउनुभयो, त्यसबीचको अवस्था कस्तो रह्यो ?
त्यो बेलासम्म हामी आन्दोलनमा थियौं। रत्नपार्कको बदाम आन्दोलन भन्थ्यौं। जहाँ दुइतीन घण्टा बस्यो, कार्यक्रम ग¥यो, फर्केर आयो। धर्ना चलिरहेको थियो। हामीलाई समातेर आएपछि विद्यार्थी आन्दोलनले नयाँ उचाइ लियो। त्यसपछि एकैपटक राजसंस्थाको सान्दर्भिकताको बहस र गणतन्त्र भन्ने कुरा सुरु हुँदा माओवादीसँग १२ बुँदे समझदारीबाट नयाँ खालको एउटा समूह पनि बन्दै गएको थियो। केही साथीहरूले हामीलाई पटक्कै मन पराउनुहुन्नथ्यो। यिनीहरू परिस्थति बिगार्दैछन्, भाँड्दैछन्, पार्टीको मूल विचारभन्दा धेरै बाहिर गए, यो कांग्रेसको मौलिक कुरै होइन भन्ने पनि थियो। अर्काेतिर केही नयाँ साथीहरू थपिनुभयो। केटाहरूले बल्ल आँट देखिए। वार कि पारको लडाइँ नेपालमा नलडी हुन्न भन्ने लागिरहेको समय कल्ले बोलिदिन्छ भन्ने भयो। त्यो हामीले बोल्यौं।
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले के भन्नुभयो ?
गिरिजाबाबुले हामीलाई राजासँगको लडाइँको सन्दर्भमा लगातार उत्प्रेरित गर्दै आउनुभयो। अहिले पछाडि फर्केर हेर्दा उहाँको त्यो दबाब सिर्जना गर्ने मात्र कुरा थियो। जब म नेपाल विद्यार्थी संघको अध्यक्ष बन्ने प्रतिस्पर्धामा रहें, त्यो कुरालाई सभापतिले रोक्नुभयो। त्यो बेलासम्म गगनको व्यक्तिगत विचार हो भन्न मिल्यो। अध्यक्ष भइसकेपछि त त्यो बोली संगठनको हुन्छ। नेविसंघकै अध्यक्ष भइदियो भने त संगठनको विचार बन्ने भयो। त्यसकारण अध्यक्षमा रोक्नुपर्छ भन्ने लाइनमा पार्टीका सभापतिलगायत लाग्नुभयो।
दरबारबाट केही दबाब आएको थियो ?
आयो। मेरो चिनजानका मान्छे, पारिवारिक सम्बन्ध भएका मान्छेले पनि मायाले गाह्रो हुन्छ, किन यति धेरै चर्का भएको, अरुलाई नहुनुपर्ने, तिमीलाई मात्र हुनुपर्ने, एकदमै धेरै निगरानी गरिएको भन्ने जस्ता कुरा गरे। त्यो त मलाई पनि लागिरहेको थियो। किनकी ममाथि जुन निगरानी थियो, त्यसमाथि झन् पछिल्लो पटक राजद्रोहको मुद्दा म एक्लैलाई लागेको थियो। आन्दोलन देशभरि थियो, मुद्दा म एक्लैलाई मात्र।
तपाईंहरूले गणतन्त्रको नारा लगाएपछि माओवादीहरू कत्तिको सम्पर्कमा आए ?
हामीले पहिलोपटक नै अखिल क्रान्तिकारीसँग संयुक्त आन्दोलन सुरु गरिहेका थियौं। १२ बुँदे समझदारीको आधार हाम्रो संयुक्त विद्यार्थी संगठनको आन्दोलनले बनाएको हो। त्यसमा उहाँहरूको पनि भूमिका छ। त्यसोहुँदा माओवादीका नेताहरूसँग बेलाबेलामा भेटघाट हुन्थ्यो। त्यहीबेलामा एउटा प्रचण्डको प्रशिक्षण सार्वजनिक भयो। झापातिर गर्नुभएको रहेछ। काठमाडौंमा हाम्रो संगठन कमजोर भयो भनेर कुनै कार्यकर्ताले गरेको प्रश्नको उत्तरमा उहाँले, संगठन भनेको विचारको हुन्छ। यतिबेला हाम्रो लडाइँ राजासँग हो, गणतन्त्रको लागि सबैभन्दा बढीे नारा काठमाडौंमा लागेको छ। गगन थापालगायतका मानिसलाई म आफ्नै कार्यकर्ता ठान्छु। उहाँहरूसँग न भेटघाट न अरु कुनै सन्दर्भ। एकातिर पार्टीले आफ्नो मौलिक विचार छोड्यो भनेर भनिरहेको र उतातिर गगन मैरै कार्यकर्ता हुन भनेर आइरहेको, यसले एउटा अवस्था ल्यायो।
गणतन्त्र आइसकेपछि पनि नागरिकमा असन्तुष्टि छ, अहिलेको अवस्था र तपाईंहरूले देखेको गणतन्त्रलाई कसरी हेर्नुहुन्छ?
गणतन्त्रको घोषणा भइसकेपछि १०/११ वर्षको मूल बाटो नेपालले छोडेन, दुर्घटनामा परेन, सम्हालिराखेको अवस्था छ। तर, संक्रमण एकदम लामो भयो। मान्छेले जनजीविकामा जून परिवर्तन खोजेका थिए त्यो पाएनन्। राज्यको लोकतान्त्रिकीकरण, पुनर्संरचनाअन्तर्गत प्रदेश र स्थानीय सरकार, राष्ट्रपतिको चुनाव हुने कुरा भए। तर, मान्छेले त शासनको आधारभूत चरित्रमै बदलाव खोजेका थिए। शासकीय क्षमता, शैली, सारमा बदलाव आउँछ भन्ने थियो, त्यो पाइरहेको छैन। नागरिकको असन्तुष्टि त्यही कुरामा हो। हे¥यो गणतन्त्र छ, संविधान नयाँ बनेको छ, प्रदेश छ, स्थानीय सरकार छ। थुप्रै कुरा छ तर सारमा परिवर्तन खोइ त ? उसले सोच्छ, पहिला जस्तो थियो, त्यस्तै छ। मेरो दुःख पहिला जस्तो थियो त्यस्तै छ, आपूmले पाएको अवसर त्यस्तै छ। यो कुरा बदलिएन भने स्वभाविक रूपमा मान्छेको असन्तुष्टि रहन्छ।
राष्ट्रपति संस्था गणतन्त्रकोे प्रतिक भएको छ। अहिलेका राष्ट्रपतिले जे अभ्यास गर्नुहुन्छ, त्यही परम्परा बन्ने हो। नागरिकलाई राष्ट्रपतिले हिजोको राजाकै नक्कल गर्न थालेको जस्तो लाग्न थालिसक्यो। बाटोको सवारीदेखि लिएर सामान्य कुरामा किन मान्छेले यतिधेरै गुनासो गर्छन् ? गणतन्त्र नेपालको राष्ट्रपति हामीजस्तै सामान्य जीवशैलीको होस् अपेक्षा रहेको छ। हाम्रो अभिभावक हो तर कमनर्स होस्, जीवनशैलीमा वा सबै कुरामा भन्ने अपेक्षा देखियो। हामीले राष्ट्रपति संस्थालाई खरो उतार्न नसक्दा। एकपछि अर्काे विवादमा ल्याउँदै गर्दा अप्ठ्यारो हुने रैछ। राष्ट्रपति संस्थामाथि प्रश्न आउनु कुनै व्यक्तिमाथिको कुरा होइन। यो संस्थाले त्यो मर्यादा राख्न सकेन, विश्वास राख्न सकेन भने हाम्रो गणतन्त्र धर्मराउँछ।
source : https://nagariknews.nagariknetwork.com/news/78221/