धौलागिरिका क्रसर व्यवसायी आन्दोलीत

साउन १५, म्याग्दी  –   क्रसरसम्बन्धी नीति नियम भूगोलअनुसार फरकफरक हुनुपर्ने माग गर्दै धौलागिरि अञ्चलका क्रसर व्यवसायी आन्दोलीत भएका छन् ।

अनिश्चितकालीन रूपमा ढुङ्गा, गिट्टी, रोडालगायत निर्माण सामग्री बिक्री वितरण बन्द गरेर क्रसर व्यवसायीहरू आन्दोलनमा उत्रिएपछि सरकारी विकास योजना, सडक, पुल निर्माण, जलविद्युत् र भवन निर्माणसम्बन्धी गतिविधिमा प्रभाव पर्ने देखिएको छ ।

सरकारले चुरे, भित्री मधेस र भौगोलिक रूपमा संवेदनशील क्षेत्रलाई केन्द्रित गरेर तयार गरेको नदीजन्य पदार्थ उत्खननसम्बन्धी नीति पहाडी क्षेत्रमा पनि लागू गरेकाले पहाडी क्षेत्रमा फरक नीतिको माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनकारीको भनाई  छ ।

सरकारको हालको नीति पहाडी क्षेत्रका लागि वैज्ञानिक र न्यायिक नभएकाले भूगोलअनुसारको नीतिको व्यवस्था नगरेसम्म क्रसर उद्योगका उत्पादन बिक्री वितरण ठप्प पारिने सङ्घले जनाएको छ ।     धौलागिरिको म्याग्दीमा एक, पर्वतमा दुई र बागलुङमा एक क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।