जेठ २२, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलार्ई घुस दिने लम्बोदर न्यौपाने ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि न्यौपानेलाई मंगलबार धरौटी तिरी तारेखमा बस्ने आदेश दिएको हो ।
विशेष अदालतको आदेश अनुसार प्राइम बैंकबाट ७८ लाख रुपैयाँ बैंक ग्यारेन्टी धरौटी बुझाए लम्बोदर न्यौपाने तारेखमा बसेका हुन् ।
न्यौपाने नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका सञ्चालक समितिका अध्यक्ष रहेका छन् ।
२० दिनअघि राजनारायण पाठकलाई पनि अदालतलाई ७८ लाख धरौटी बुझाउन आदेश गरेको थियो । पाठकले पनि अदालतको आदेश भएको एक घण्टामै ७८ लाख रुपैयाँ बुझाएर धरौटीमा बसेका थिए।
अख्तियारले घुसमा संलग्न घुस लिने र दिने आफ्नै आयुक्त पाठक र न्यौपाने दुवैजनालाई प्रतिवादी बनाई प्रतिव्यक्ति ७८ लाख रुपैयाँ बिगो माग गर्दै चैत १२ मा मुद्दा दर्ता गरेको थियो ।