मोदी भ्रमण बारे छलफल गर्न सर्वदलीय बैठक

साउन १५ , काठमाडौं –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीका विषयमा छलफल गर्न  प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग आज छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे जानकारी गराएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् । बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रुपमा लिन आग्रह गरेका छन् ।

बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत बृहत् आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिइएको बताए ।