बैशाष २९, काठमाडौं — तातोपानी नाका मालवाहक सवारीका लागि खुला हुने भएको छ ।नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी नाका ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला गर्न लागिएको छ ।
तीन सातापछि खोलिने उक्त नाकाको तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्ने बताइएको छ । बाढी र पहिरोको जोखिममा परेको तातोपानी नाका ०७२ को महाभूकम्पका कारण ध्वस्त भएको थियो ।
भूकम्पपछि वन्द अवस्थामा रहेको उक्त नाकाबाट चार वर्षयतादेखि कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भएपनि यहाँको सडक अवस्था निकै जोखिमपुर्ण रहेको छ । त्यसैले रसुवागढीबाट जस्तो तातोपानी नाकाबाट अझै सामान ढुवानी सहज छैन ।
भूकम्पले तातोपानी नाकाका संरचना ध्वस्त भएदेखि नै नाका खुल्ने–नखुल्ने विषयमा बहस चलिरहेको छ । चिनियाँले भौगोलिक संरचना देखाउँदै त्यहाँबाट कारोबार गर्न नसकिने भने पनि नेपाली पक्षले राजनीतिक कारणबाट नाका खुल्न ढिलाइ भएको बुझिएको छ ।
तातोपानी नाकाबाट चीनविरोधी गतिविधि बढेको चिनियाँ बुझाइका कारण यो खुल्न ढिला भएको हो । अहिले चीनबाट जुन मोडलमा नाका खोल्ने तयारी भइरहेको छ, त्यसबाट नाका राजनीतिक कारणले नै खुलाउन ढिलाइ भएको पुष्टि हुन्छ ।
यो चीनसँगको पहिलो अन्तर्रा्ष्ट्रिय नाका हो । दुई वर्ष अघिदेखि रसुवागढीलाई पनि अन्तर्रा्ष्ट्रिय नाका भन्दै त्यहाँबाट आउजाउ गर्न थालिएको छ । त्यस्तै, हिल्सा–यारी नाकालाई पनि अन्तर्रा्ष्ट्रिय नाकाका रूपमा लिइएको छ ।
छिमेकी चीनसँगको अन्य नाकाहरु खोल्ने भनिएपनि नाकासम्म पुग्ने नेपालको सडकलाई राम्रो नहुँदा हिउँदबाट मात्रै तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कन सक्ने अनुमान गरिएको छ ।
तातोपानी नाका बन्द भएका कारण हजारौं परिवार त्यहाँबाट विस्थापित भएका छन् । सुरुदेखीनै विवादमा रहेको भोटेकोसीको पुल निर्माण विवादकै कारण पुल निर्माण ढिलो भईकन पनि अहिले अन्तिम चरणमा पुगेको छ ।