बैशाख २७, चितवन — हिरासतमा एक थुनुवाले आत्महत्याको प्रयास गरेको घटनाको विषयलाई लिएर छानबिन गर्न समिति गठन गरिएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा थुनुवाले आत्महत्या प्रयास गरेपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार भएको सर्वपक्षीय बैंठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिले ७ दिनभित्र यथार्थ अवस्थाको जानकारी समेटिएको प्रतिवेदन पेश गर्ने छ । समितिमा कालिका नगरपालिका दुई जना वडाध्यक्ष, आरोपीका आफन्त दुई जना, जिल्ला प्रहरी कार्यालयका डिएसपी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, मान्यता प्राप्त राजनीतिक दलका एक एक जना प्रतिनिधि रहेका छन् ।
चोरी घटनाका आरोपी समीर घिसिङले बिहीबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालयको हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेका थिए ।
अहिले उनको पुरानो मेडिकल कलेजमा उपचार गराइएको प्रहरीले जनाएको छ ।
कालिका नगरपालिका –१ पदमपुरको राष्ट्रिय आधारभूत विद्यालयबाट ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एक व्यक्तिलाई समातेर गत बुधबार टाँडी प्रहरीलाई बुझाएको थियो ।
यता घिसिङका परिवार र आफन्तले भने प्रहरीले अनावश्यक दवाव दिएर घिसिङलाई आत्महत्या गर्ने अवस्थामा र्पुयाएको आरोप लगाएका छन् ।