प्रधानमन्त्री ओली र विपक्षी सांसदहरुबीच संसदमा दोहरी

वैशाख २४, काठमाडौं – प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले आज संसद अवरोध गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो ।

जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भन्दै सम्बोधन सुरु गरे पछि कांग्रेस सांसद मीन विश्वकर्माले आपत्ति जनाएका थिए ।

सरकारको नीति तथा कार्यक्रम घोषणामा राष्ट्रपतिले मेरो सरकार भनेपछि टिकाटिप्पणी आलोचनाको माहोल वनेको थियो । यसैविषयमा प्रधानमन्त्रीको स्पष्टीकरण  भुलचुकले होइन, जानीबुझी मेरो सरकार राखिएको हो भन्ने जवाफ दिएपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चलेको थियो ।

प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि दोहरी चलिरहँदा सभामुख भने मौन वसेका थिए । विपक्षी सांसदहरुलाई चित्त बुझाउन र प्रधानमन्त्रीलाई रोक्न सकेनन् । प्रधानमन्त्री ओलीले पनि कांग्रेस सांसदहरुको नाराबाजीकै बीचमा जवाफ दिए ।