बैशाख २३, काठमाडौं — सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो व्यङ्ग प्रहार गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सुखी नेपाली समृद्ध नेपाललीको नारा परिर्वतन गरेर ‘समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्र्दभमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरे । महत्वाकांक्षा विहिन, अभिलाशा सुन्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उनको तर्क थियो ।
सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ प्रति पनि उनले गम्भीर आपत्ति समेत जनाए ।