बैशाख २०, काठमाडौं — सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजना पूरा गर्ने जनाइएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
नेपालीको आफ्नै पानी जहाज चढ्ने इच्छा पुरा हुने गरी सरकारले तीव्र गतिमा काम गरेको उल्लेख छ । त्यस्तै ४ बर्षमा फास्ट ट्रयाक र हुलाकी राजमार्ग निर्माण सकिने सरकारले जनाएको छ ।
काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेल मार्गले जोड्न २ वषभित्र निर्माण कार्य सुरु गरिनेछ । सामाजिक सुरुक्षा भत्ता वृद्धि गरिनेछ । संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र सहकार्यलाई व्यवस्थित गरिनेछ ।
त्यस्तै, राष्ट्रिय राजमार्गमा आपत्तकालिन विमान अवतरण गर्ने व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।