वैशाख १७, काठमडौ— कैलालीको लम्की मंगलबार बिहान देखि तनावग्रस्त छ । ट्रकको ठक्करले एकजना छात्राको मृत्यु भए पछि सुरु भएको प्रदर्शनले उग्र रुप लिदा तनाव उत्पन्न भएको हो ।
कैलाली जिललाका डिएसपी दत्त कुमार वस्नेतका अनुसार ना ७ ख ९२३३ को ट्रकले साइकलमा यात्रा गरिरहेकी लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि प्रदर्शनकरीले प्रदर्शन गरेका छन ।
विहानै देखि लम्की बजारमा प्रदर्शनकारीले तोडफोडका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।
प्रदर्शनका क्रममा केही दर्जन वढी प्रहरी र स्थानीय घाइते भएका छन् । वस्नेतका अनुसनर अझै पनि तनाव कायम नै छ । अहिले प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
स्थिति नियन्त्रण बाहिर जान नदिन सर्वदलिय वैठक वसिरहेको छ । प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएको छ । अवस्था समान्य अवस्था भए पछि सव उठाउने उनले वताए । चालकको गल्तीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ ।