बैशाख, १६ काठमाडौं – सङ्घीय संसद्को चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउसो ४.०० बजे अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।
तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । यसअघि प्रि बजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो ।