बैशाख, १५ काठमाडौैं – एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाएको हो । मलेसियाका तीन खेलाडीबाहेक अरु खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाए ।
२१.५ ओभरमा सातौं विकेट गुमाएको मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गरेका थिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपक बोहरा र विशालकुमार पटेल चम्किए । विशालले चार विकेट लिदा दीपकले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।