जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने

वैशाख४, काठमाडौं — जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका छन् । सर्वोच्च अदालतले बाटो खोलेका कारण जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका हुन् ।

गृह मन्त्रालयको पत्रअनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई बाटो खुलेको हो । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यो कार्य रोक्न अन्तरिम आदेश दिएको थियो ।

चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको छ ।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।