चैत २८, काठमाडौं — संसद्मा विचाराधीन भएको विषयमा निर्णय नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन रहेका बेला गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेपछि समितिको बुधबारको बैठकले यस्तो निर्देशन दिएको हो ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७७ जिल्लामा परिपत्र गर्ने निर्णय गरेको थियो । फलस्वरुप समितिले बुधबार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राइलाई बोलाएको थियो ।