चैत्र २६ काठमाडौं– सरकारले विद्युतीय यातायातको विकासका लागि छिटै काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्ने तयारी गरेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको यस सम्वन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने वताए ।
विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ)सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए ।
नेपालको विद्युतीय यातायात प्रवर्द्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो।
मन्त्री बस्नतेले हिजै सोमबार नेपालमा जिजिजिआई कार्यालयको उद्घाटनसमेत गरेका छन् । जिजिजिआइसँगको सहकार्य नेपालको वातावरण क्षेत्रमा केही नयाँ कदमको महत्वपूर्ण थालनी भएको उल्लेख गर्दे मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा वन सचिव डा विश्वनाथ ओलीले विद्युतीय यातायात र हरित सहरका क्षेत्रमा जिजिजिआइसँगको सहकार्यले हरित अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि वातावरण ‘वातावरण स्वच्छ महाअभियान’ अघि बढाएको बताए।
कार्यक्रममा जिजिजिआइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, साझा यातायात र महालक्ष्मी नगरपालिका प्रतिनिधिबीच विद्युतीय यातायात र हरित सहर प्रवद्र्धन गर्नेसम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।
जिजिजिआइ संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मूनको प्रयत्नमा स्थापित अन्तरसरकारी संस्था हो। हालसम्म ३२ देशले यसको सदस्यता लिइसकेका छन्। नेपालले विगत दुई वर्षदेखि जिजिजिआइसँग काम गर्दै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त संस्थाले हाल काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाण्डुका केही गाउँपालिकामा जलवायु परिवर्तनका लागि उत्थानशीलतामा सहयोग गर्दै आएको छ।