चैत २६, काठमाडौं — शुक्रवारदेखि ‘लभ स्टेसन’ प्रदर्शनमा छ। रिलिज हुनुअघि नै उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेसन’ विवादमा पर्याे । कारण, फिल्मको ट्रेलरमा समावेश एउटा दृश्य टर्किस फिल्म ‘हर से असत्तन’सँग जस्ताको त्यस्तै मिल्नु। त्यसपछि फिल्मले रिलिजअघि नै चोरीको आरोप खेप्यो।
फिल्म रिलिजको तीन दिनअघि फिल्मका प्रमुख अभिनेता प्रदीप खड्कालाई फिल्ममाथि लागेको चोरी आरोपबारे जिज्ञासा राख्दा उनको जवाफ थियो, ‘चोरीको हल्ला आउनासाथ मैले सत्य के हो भनेर राइटर/डाइरेक्टरलाई सोधें। फिल्मसँग त कथा मिल्दैमिल्दैन। केटाकेटीको इन्ट्रोडक्सन अलि युनिक तरिकाले गरौं न त भनेर गरिएको दृश्य भने मिल्न गएछ।’
त्यतिबेला कुराकानीका क्रममा उनले नेपाली फिल्मको अर्को लाजमर्दो अवस्था पनि दर्शाउँदै भने, ‘अहिलेको अवस्थामा झण्डै ९० प्रतिशत जति नेपाली फिल्म कतै न कतैबाट प्रभावित नै भेटिन्छन्। यस्तो प्रवृत्तिलाई निरुत्साहित गरियो भने त यहाँ फिल्म निर्माण हुनै बन्द हुन बेर छैन।’ चोरीबारे थप बहस फिल्म हेरिसकेपछि गर्ने सर्तमा त्यो कुराकानी टुंगियो।
विडम्बना, उनले प्रोत्साहनको अपेक्षा राखेको यो फिल्म अन्ततः दुई वटा टर्किस फिल्मबाट चोरिएको प्रमाणित भयो। ट्रेलरको दृश्य मिलेको ‘हर से असक्तन’ (अंग्रेजीमा एभ्रिथिङ इज लभ) बाट संवाद र फ्रेमसमेत मिल्नेगरी केही दृश्य चोरिएको भेटियो भने बाँकी सबै ‘सेबिम्ली तेल्केली’ (अंग्रेजीमा ‘क्युट एन्ड डेन्जरस’) नामको अर्को टर्किस फिल्मबाट हुबहु कपी गरिएको पाइयो।
कथाको चर्चा ।
फिल्मको प्रमुख पात्र छिन्, रानी (जसिता गुरुङ)। बुवाले रोजेको केटो अर्जुन (प्रकाश शाह)सँग उनी बिहे गर्ने तयारीमा छन्। जीवनमा एक पल्ट हुने बिहेलाई लिएर उनी उत्साहित छन्। बिहेको तयारीमा जुटिरहेका बेला उनको सागर (प्रदीप खड्का) सँग भेट हुन्छ। भेट जुराउने स्थान एउटा रेस्टुरेन्ट हो जसको नाम हो– लभ स्टेसन। सागर त्यहीँ गीत गाउँछन्।
यहीबेला अर्जुनले आफूलाई पत्तो नदिई साथीहरूसँग ब्याचलर्स पार्टी मनाइरहेको रानीले थाहा पाउँछिन्। त्यसपछि पार्टी मनाइरहेको ठाउँमा सुटुक्क पुग्दा उनले आफ्नो फियान्सीलाई अर्कै युवतीसँग बेडमा सुतिरहेको देख्छिन्। त्यसपछि रिसले चुर रानी अर्जुनसँगको याद भुलाउन सागरको सहारामा पुग्छिन्।
दुवैबीच प्रेम अंकुराउन थाल्छ। त्यहीबेला घट्ने एक घटनाले उनीहरूको सम्बन्धमा दरार आउँछ। रानी अचानक सागरसँग टाढिन्छिन्। बुबा जसरी पनि अर्जुनसँगै बिहे गराउने पक्षमा छन्। रानीले मान्लिन् त ? बुबा र बाल्यकालसँग जोडिएको रहस्यका बीच विकसित हुने यो फिल्मको क्लाइमेक्स टर्कीस फिल्म ‘सेबिम्ली तेल्केली’ को भन्दा फरक छैन।
‘लभ स्टेसन’को बच्चा जन्माउने सुरुवाती दृश्यदेखि अन्तिम दृश्यसम्म ‘सेबिम्ली तेल्केली’सँग पूरापूर मिल्छ। दृश्यमात्रै होइन, धेरै ठाउँमा संवाद र क्यामेराको फ्रेम पनि दुरुस्तै मिल्छ।
सुरुका केही दृश्य भने ‘हर से असक्तन’सँग मिल्छन्, जस्तो: प्रदीप र जसिताबीच रेस्टुरेन्टमा पहिलोपल्ट भेट हुने दृश्यदेखि ब्याचलर्स पार्टीमा फियान्सीले चिट गरेको दृश्यसम्म संवाद र फ्रेमसमेत दुरुस्तै हुने गरी खिचिएको छ।फरक यत्ति हो, ‘हर से असक्तन’ फिल्मका प्रमुख अभिनेता रेस्टुरेन्टका ड्रमर हुन्छन्, यता ‘लभ स्टेसन’मा भने प्रदीपलाई गायक बनाइएको छ। त्यताका पात्र ड्रमर भएकाले उनको गाडीमा पनि ड्रमसेट हुनु र पात्रले तालमा बजाउनु स्वभाविक लाग्छ। तर, यता त्यही दृश्यलाई दुरुस्तै कपी गर्दा पात्रको मनोविज्ञानप्रति निर्देशनको ध्यान नपुगेको प्रस्ट हुन्छ।
अँ, ‘लभ स्टेसन’मा ती दुई टर्किस फिल्मभन्दा अरु पनि केही फरक छ है ! जस्त: यो फिल्म दार्जिलिङ र इलामको परिवेशमा खिचिएको छ, त्यो त्यतैको परिवेशमा। त्यसैले त्यता सूर्यमुखीको बगान छ, यता चियाको। बच्चा अपहरणको शैली, बच्चाको छातीमा जन्मदागको दृश्य आदि सबै दुरुस्त कपी गरिएका छन्।
फिल्म हेरिसकेपछि लाग्छ, यो फिल्म दर्शकलाई जे देखाए पनि हेरिदिन्छन् भन्ने कमजोर मानसिकताको परिणाम हो। अरुको सिर्जना हुबहु चोरेर लेखक बन्न खोज्नु र त्यसलाई पर्दामा हुबहु उतार्न खोज्नु अपराध नै हो। यसर्थमा ‘लभ स्टेसन’ निर्देशक उज्ज्वल घिमिरे र लेखक सुवाससिंह बस्न्यातको करिअरकै ठूलो गल्ती हो।
दुई टर्किस फिल्म नहेरी हल जाने दर्शकलाई पनि यो फिल्मले छुँदैन। न प्रदीप र जसिताको प्रेमले छुन्छ, न उनीहरूको अरु पात्रसँगको सम्बन्धले दर्शकलाई अपनत्व महसुस गराउँछ। पर्दाभित्र पात्र ग्वाँग्वाँ रुन्छन्, त्यही दृश्यले दर्शक बाहिर गलल्ल हाँस्छन्। बरु कपी गरिएका दुवै टर्किस फिल्म दृश्यभाषामा बलिया लाग्छन्। तर ‘लभ स्टेसन’मा निर्देशकले चोरिएकै कथालाई पनि बलियोसँग पस्कन सकेका छैनन्। फिल्मको गति पनि उस्तै सुस्त लाग्छ। लामो समयसम्म एउटै दृश्य फ्रेममा देखाइरहँदा दर्शक बारम्बार हाई काढ्न बाध्य हुन्छन्।
फिल्म दार्जिलिङ र इलाममा खिचिएको भए पनि त्यहाँको जीवन उतार्न निर्देशक असफल देखिन्छन्। सायद टर्किस फिल्मकै फ्रेममा ढाल्न खोज्दा सिनेमाटोग्राफर पनि क्यामेराको सिर्जनशील प्रयोगमा चुकेका छन्। कथाको गतिसँग बजिरहने फिल्मको ध्वनिले पनि दर्शकसँग खास अन्तरक्रिया गर्न सकेका छैनन्। स्टार पथमा हिँडिरहेका प्रदीप खड्काको अभिनयमा पनि कुनै ग्रोथ देखिँदैन। उनी पटकथा चयनमा सुरुदेखि नै चुकिरहेका छन्। अब पनि उनको आँखाको पट्टी खुलेन भने नेपाली फिल्म क्षेत्रमा उनको करिअरको गति छोटिने पक्का छ।
त्यस्तै को–एक्टर जसिताको हालत पनि उस्तै छ। डेब्यु फिल्म ‘लिलिबिली’भन्दा उनी यहाँ कमजोर लाग्छिन्। कताकता त ‘ओभरएक्ट’ गरेजस्तो। रमेश बुढाथोकीले पनि दर्शकलाई रिझाउन सक्दैनन्।
फिल्ममा प्रशंसालायक केही छ भने त्यो गीत मात्रै हो। फिल्मको कथा र कथ्य शैलीले हलमै ‘बिरामी’ पर्ने दर्शकलाई ‘घाम जुन चाहिँदैन’ र ‘मेरो आँगनी’ गीतले बरु औषधिको काम गर्छन्। फिल्ममा अन्य जे जति राम्रा पक्ष छन्, त्यसको श्रेय न त फिल्म निर्देशक न त अन्यलाई नै दिन मिल्छ किनभने ती सबै टर्किस फिल्मकै कारण यत्तिको बन्न सकेको हो। नत्र त अरु मन हुँडल्ने दृश्य के नै छ र फिल्ममा ?
‘लभ स्टेसन’ अरुको सिर्जनालाई आफ्नो भनेर बेच्न खोज्दाको परिणाम हो। भाषालाई बिर्सने र संवादलाई म्युट गरेर हेर्ने हो भने यो पूरापूर टर्किस फिल्मजस्तो लाग्छ। नक्कल गर्न पनि निर्देशकको अक्कल पुगेको छैन। नत्र हेरुञ्जेल त रमाइलै लाग्थ्यो होला!
Source : nagariknews साभार