जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता नदिन सर्वाेच्चको आदेश

चैत २५, काठमाडौं— २५ चैत, काठमाडौं । जन्मका आधारमा नागरिकता लिएकाको सन्तानले वंशजको नागरिकता नपाउने भएका छन् । वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएकाले यस्तो व्यवस्था भएको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आजै सोमबार गृह मन्त्रालयको परिपत्रमार्फत यथास्थितिमा राख्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको छ ।