गाडीमा नक्कली परिचयपत्र देखाए कारवाही

 

चैत २५,काठमाडौ—नक्कली वा म्याद गुज्रिएका  परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरु अव होसियार हुनुपर्ने भएको छ । पहिला यस्ता परिचय पत्र देखाउदा कन्डक्टरले थाहा पाए ङिच्च परि हाँसे सुख पाइन्थ्यो । अव भने कारवाही नै सहनु पर्ने भएको छ ।

सार्वजनिक यातायातमा यात्रा सुरक्षित र व्यवस्थित नभएको गुनासो वढिरहेका वेला काठमाडौ महानगरपालिकाले त्यसलाई कानून नै वनाएर थप व्यवस्थित गर्ने प्रयास सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ मा कारवाहीको व्यवस्था गरेको छ । जसमा कसुर गर्नेहरुमाथि पहिलो पटक एक सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ ।

परिचय पत्रको मात्र होइन गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही भोग्नुपर्ने छ । यी कसुर गर्नेले पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने छ ।

महानगरपालिकाको आइतबारको नगरसभाबाट पारित भएको विधेयक अबको १५ दिनभित्र प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने छ ।