साउन १२, इलाम – संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपालबीच आज तीन बुँदे सहमति भएको छ । इलामको चियाबारी कटेजमा बिहानैदेखि सुरू भएको वार्तामा मोर्चाले शान्तिपूर्ण राजनीतिमा अग्रसर हुँदै संविधान निर्माण प्रक्रियामा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ ।
यस्तै मोर्चाबाट उठाइएका संविधानसम्बद्ध विषयवस्तुहरू संवैधानिक राजनीतिक समितिसमक्ष प्रस्तुत गर्न उपसमितिले विश्वास दिलाउने र मोर्चाका बन्दी, कार्यकर्ता र उनीहरूसम्बद्ध मुद्दाहरूको विवरण सरकारसँग उपलब्ध गराएर समस्या समाधान गर्न उपसमितिले सरकारसामु पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
मोर्चाका तर्फबाट अविरल र प्रारम्भिक वार्ता उपसमितिका तर्फबाट संयोजक आनन्दप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका छन् । वार्तामा बोलाइएकामध्ये पल्लोकिराँत सहभागी नभएको संसद सचिवालयका प्रवक्ता तथा वार्ता टोलीका एक सदस्य मुकुन्द शर्माले जानकारी दिए ।