चैत२५, काठमाडौं — सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस समितिले आवेदन खुलाएको छ । संशोधित ऐनअनुसार दुबै आयोगका वर्तमान पदाधिकारीको कार्यकाल चैत मसान्तमा सकिएकाले रिक्त पदका लागि आवेदन खुलाएको हो ।
नयाँ पदाधिकारी सिफारिस गर्न सरकारले १५ चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
समितिको आइतबार बसेको पहिलो बैठकले दुबै आयोगका पदाधिकारीका लागि आवेदन आहृवान गर्ने निर्णय गरेको छ ।
अध्यक्षका लागि सर्वोच्चको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइरहेका, न्याय सेवाको विशिष्ट श्रेणी पदमा काम गरेका वा सर्वोच्चको न्यायाधीश हुने योग्यता भएका व्यक्ति हुनुपर्नेछ ।