फागुन७, काठमाडौं – झण्डै सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन गरिने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधन गर्ने तयारी गरेको हो ।
पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
“नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।” सापकोटाले भने, मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन वटा ऐनको संशोधनको समेत तयारी गरिहेको छ ।
अहिले सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको छ । नयाँ संरचना अनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।