मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न टेन्डर आह्वान गरिने

फागुन ६, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गरिने भएको छ । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम अगाडी बढाउन टेन्डर आह्वान गरिने भएको हो ।

सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाले तयारी गरेको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची आयोजना विकास समिति छलफलमा ‘सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ टेन्डर खुलाउने तयारी भइरहेको बताइएको हो ।

सरकारले सिएमसीलाई सन २०१३ मा तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरी सात अर्ब ७२ करोडमा आयोजनाको जिम्मा दिएको थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै विभिन्न समयमा सम्झौता थप गरियो । पछिल्लो सम्झौताअनुसार सिएमसीले २७ माघसम्म आयोजनाको काम सक्नुपर्ने थियो ।

विभिन्न कारण देखाउँदै सिएमसीका प्रतिनिधिले २९ मंसिरदेखि नै काम छाडेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।  सिएमसीसँगको ठेक्का तोडिएको दुई हप्ता पुग्दा पनि आयोजनाको बाँकी काम कसरी अघि बढाउने भन्ने बारेमा पनि ठोस निर्णय हुन सकेको छैन ।

तर बाँकी काम पुरा गर्न करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान आयोजनाले गरेको छ ।