नेपाल बारको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता आज

फागुन ६, काठमाडौं – नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छनोटका लागि सोमबार उम्मेदवारी दर्ता हुदैछ । नेकपा निकटको प्रगतिशील कानुन व्यवसायी एसोसिएसनले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले सुनिल पोख्रेलको नेतृत्वमा मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ ।

प्रगतिशील कानुन व्यवसायी संगठनका तर्फबाट वारको नयाँ नेतृत्वका लागि अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा ईश्वरी भट्टराई, महासचिव सुरेन्द्र थापा र कोषाध्यक्षमा रुद्र पोख्रेल तथा महिला उपाध्यक्षमा रक्षा बस्याललाई मनोनय दर्ता गराउदैछन् ।

राजनीतिक तथा भौगोलिक सन्तुलन नमिलाइ, सुदूरपश्चिमलाई अन्याय गरि, कानुन व्यवसायीको संगठनमा राजनीतिक दलको नेतृत्वको निर्णय जबरजस्ती लादिएको भन्दै संगठनले उम्मेदवार चयनका लागि गठन गरेको ४५ सदस्यीय समितिका सदस्य चन्द्रबहादुर शाहीद्धारा छानिएका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

नेकपा निकट प्रगतिशील पक्षबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ एवं वरिष्ठ अधिवक्ताद्वय विजयकान्त मैनाली र हरि उप्रेती पनि अध्यक्ष पदका लागि दाबेदार देखिएका थिए ।

यसैगरी डेमोक्रेटिक लयर्स एसोसिएसनले उम्मेदवार छनौटका लागि पूर्वमहान्यायाधिवक्ता वसन्तराम भण्डारीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिको अध्यक्षमा पोख्रेल, उपाध्यक्षमा राजेश्वर अधिकारी, महिला उपाध्यक्षमा कविता थापा, महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

तर निर्णयमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र प्रेमबहादुर खड्काले वरिष्ठतालाई बेवास्ता गरिएको भन्दै असहमति दर्ता गराएका छन्।