अर्थमन्त्री खतिवडा र गभर्नर नेपाललाई बैंकको व्याँज घटाउन प्रधानमन्त्रीको निर्देशन

फागुन ५, काठमाडौं –प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपाललाई ब्याजदर विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटबार्ता र निजी क्षेत्रको आग्रहपछि, ओलीले बैंकको ब्याजदरको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन प्रधानमन्त्री ओलीको सल्लाह पनि छ । प्रधानमन्त्री ओलीले बैंकहरुलाई उत्पादनमुलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिँएका छन् ।

व्यवसायीहरुले लामो समयदेखि ब्याजदर घटाउन आग्रह गर्दै आएका थिए । निक्षेपमा ब्याज घटाइसकेका बैंकहरु भने कर्जाको ब्याज घटाउन आनाकानी गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार राष्ट्र बैंक र व्यवसायीसँग यस विषयमा छलफलको तयारी गरेका छन् ।