माघ १५, काठमाडौं— न्यायाधीशहरुको छनोट प्रक्रिया लोकसेवा परिक्षामार्फत हुने भएको छ ।
न्याय परिषदले परिक्षा लिएर पदपुर्ति गर्दै आइएको न्यायधीशको भर्ना प्रक्रियाको जिम्मा लोकसेबा आयोगले लिएको हो । यस वर्षदेखि न्याय परिषदले न्यायधीश छनोटको जिम्मा लोकसेवा आयोगको काँधमा आई लागेको छ ।
न्याय परिषदले हालै पाँच जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको छ । आगामी चैत १० गते हुने परीक्षाको तयारी लोकसेवा आयोग गर्दैछ ।
न्यायाधीशका लागि प्रश्नपत्र बनाउने, लिखित परीक्षा लिने देखि उत्तर पुस्तिका जाँचेर प्राप्तांक दिने कार्य पनि लोकसेवा आयोगकै जिम्मा आएको आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले बताए । तर लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता भने न्याय परिषद आफैंले लिने भएको छ ।
संविधानमा न्याय परिषदले जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने उल्लेख छ । जिल्ला न्यायाधीशमा ४० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र ६० प्रतिशत न्यायसेवा भित्रैबाट न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुसार दोस्रो पटक जिल्ला न्यायाधीशको खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको हो ।
लोकसेवा आयोगद्धारा लिने परीक्षा निष्पक्ष, विश्वसनीय र विवादबाट मुक्त हुने विश्वास गरिएको छ ।