चितवनको भरतपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने

माघ १३, काठमाडौं —चितवनको भरतपुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्ने भएको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माण गर्दैछन् । रङ्गशाला निर्माणको घोषणा कार्यक्रम यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गरिने भएको छ ।

उक्त कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर हुदैछ । रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच सम्झौता भइसकेको छ ।

फाउण्डेशन अध्यक्ष सीताराम कट्टेल धुर्मसले सरकार र जनताको सहकार्यमा अन्तराष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा निर्माण गर्न लागेको बताए ।

कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ ।