वाईड वडी जहाज खरिद प्रकरणबारे अख्तियारले सातौं पटक छानविन गर्दै

माघ १२, काठमाडौं — वाईड वडी जहाज खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातौं पटक छानविन सुरु गरेको छ । उजुरीका आधारमा कागज मगाएर छ पटकसम्म छानविन गर्दा कुनै त्रुटी नभेटिएपछि टुँग्याएको छानविन प्रक्रिया अख्तियारले फेरी सातौं पटक छानविन सुरु गरेको हो ।

वाइडबडी जहाज खरिद प्रक्रियामा भ्रष्टचार भएको भन्दै पछिल्लो समय निकै चर्चा भएपछि एक पटक फेरि हेर्न लागेको अख्तियारले जनाएको छ ।  सार्वजनिक लेखा समितिको प्रतिवेदनले जहाज खरिद प्रक्रियामा निगमलाई चार अर्बभन्दा बढि नोक्सान पुर्याइएको भन्दै बहालवालादेखि पूर्व पर्यटनमन्त्रीसम्मलाई कारवाही सिफारिस गरेको थियो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले संसदीय समितिको प्रतिवेदनका कारण धेरैको ध्यानाकर्षण भएकाले जहाज खरिद प्रकरणको मुद्धा फेरि हेर्न लागिएको बताए ।

केही दिनअघि अख्तियारले बोलाएर सोधपुछ गर्दा, दुई वटा न्यारोबडी र दुई वटा बाइडबडी जहाज ल्याउन मुख्य भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले सार्वजनिकरुपमा आफूहरुले एक रुपियाँ अनियमितता नगरेको भन्दै, सस्तोमा जहाज ल्याउँदा सम्मान हुनुपर्नेमा अपमान गरेको गुनासो गरेको अख्तियारका प्रवक्ता दंगालले जानकारी गराए ।

यता निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने जहाज खरिदको विषयलाई लिएर राजनीतिक उद्देश्यका लागि प्रयोग भएको र निगमले जहाजहरु ल्याएको नरुचाउने गिरोहले समेत खेल्ने काम गरेको जिकिर गरेका छन् ।

अख्तियारले भने यसअघि छ पटक कागजाज मगाएर अध्ययन गर्दा एक पटक पनि प्रक्रिया रोक्न भनेको थिएन् । अख्तियारले क्लिन चिट दिएसँगै टेण्डर प्रक्रिया अघि बढाउनेदेखि जहाज खरिदको भुक्तानी गर्ने काम गरिएको थियो ।