पश्चिमी वायुको प्रभाव घट्दै, आइतबारदेखि मौसम सफा हुने

माघ १२, काठमाडौं -पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा रिमझिम बर्षासँगै उच्च हिमाली क्षेत्रमा हिउ परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका अधिकाँश भागमा आंशिक बद्ली भई पूर्वी तथा मध्य क्षेत्र र पश्चिम भागका केही ठाउँमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिउपर्ने जनाएको हो ।

पश्चिमी वायुको प्रभाव मध्य हुँदै पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा विस्तारै सुधार आउने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उक्त वायुको प्रभावले अहिले देशका पश्चिम तथा मध्य र पूर्वका केही भागमा छिटफुट वर्षा भइरहेको र साँझपखदेखि मौसममा सामान्यतया सुधार आउने वरिष्ठ मौसमविद् अर्यालले जानकारी गराए ।

भोलि आइतबार पनि देशका पहाडी भेगमा सामान्य बद्ली हुने र बाँकी स्थानमा मौसम सफा रहने तथा पहाडी भेगमा केही ठाउँ हल्का वर्षाको हुने सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ ।

पोखरामा सबैभन्दा बढी बर्षा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ ।