जन्ती बसमा करेन्ट लागेर ७ जनाले ज्यान गुमाएको धनुुषाको घटनामा नेपाल विद्युत प्राधिकरण दोषी

माघ १२, काठमाडौं — धनुषाको कोठिया बल्टियामा शुक्रबार जन्ती बसमा करेन्ट लागेर ७ जनाले ज्यान गुमाएको घटनामा नेपाल विद्युत प्राधिकरणको दोष रहेको बताइएको छ ।

प्राधिकरणको लापरवाहीका कारण सिन्धुलीतर्फ जाँदै गरेको बसमा करेन्ट लाग्दा सात जनाले ज्यान गुमाएका थिए भने दर्जन बढि घाइते भएका थिए ।

यस घटनामा भएको मानवीय क्षतिको जिम्वेवारी स्वयं नेपाल विद्युत प्राधिकरणले लिनु पर्ने धनुषाको सबैला नगरपालिकाका मेयर विजयशंकर शाहले बताए ।

साहले लोडसेडिङ हटाएको राम्रो कामको जिम्मेवारी लिने तर नराम्रो कामको जिम्मेवारी लिन्न भन्न नमिल्ने पनि जानकारी गराए ।
साहका अनुसार हाइटेन्सन लाइनको तार तन्केर निकै तल झरेको र पटक पटक आग्रह गर्दासमेत वास्ता नगर्दा अहिले ठूलो मानवीय क्षति भएको हो ।

बेलुकी करिब ८ः१५ तिर हाइटेन्सन लाइनको तारले करेन्ट लागेर ना ५ ख १७५२ नम्बरको जन्ती बस दुर्घटनामा परेको थियो ।
बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने तार छोइएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

बेहुला बेहुली भने छुट्टै गाडीमा चढेकाले उनीहरु सकुशल रहे पनि जन्तीहरु भने दुर्घटनामा परेका हुन् । सबैलाको बल्टीयाका रामभरोस दनुवारकी छोरीको विहे सकेर फकिँदै गरेको जन्ती बस दुर्घटना भएपछि गाउँ नै शोकमा परेको छ ।