माघ ६, काठमाडौं — काठमाडौंका मुख्य सडक चोकहरुमा अब ट्राफिक लाइट जोडिने भएको छ । महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफलपछि काठमाडौंमा थप ८ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको हो ।
यसका लागि मुख्य ८ वटा चोकमा लाइटहरु राख्न ठेक्का सम्झौता भईसकेको छ । मर्मसम्भारपछि पनि पुरानै ट्राफिक लाइटले ट्राफिक व्यवस्थापन सजिलो भएकाले अरु चोकमा पनि यसको फेरी प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बिरहीले बताए ।
काठमाडौंमा बढी व्यवस्त सडक सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट जडान गरिने तयारी भएको विभागमा ट्राफिक इकाइ प्रमुख बिरहीले जानकारी गराए ।
एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा यसअघि जडान गर्न खोजिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ तथा स्मार्ट लाइट जडान सफल नभएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको छ ।
५७ लाख खर्चमा तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाईटहरु जोडिदैछ, भने अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
अघिल्लो वर्ष निर्णय भएको काठमाडौं महानगरपालिका, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको पुरानै लाइट मर्मत गरेर सञ्चालन गर्ने कार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार काठमाडौं महानगरले नयाँबानेश्वरमा १५ लाख र महाराजगञ्जमा २७ लाख खर्च गरी पुरानै लाइट मर्मत गरी परिक्षण गरिएको थियो ।
०६५ सालमा जाइकाको सहयोगमा काठमाडौंका सडक ट्राफिक लाईटहरु जडान गरिएको थियो । तर, पछिल्लो समय उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्तिहरुले काम गर्दैन ।
अब चार महिनाभित्रै ८ वटा चोकमा लाइटहरु बाल्ने गरी तयारी भईरहेको छ । अहिले लाइट नहुँदा महाशाखाले आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरी सवारी व्यवस्थापनका लागि सडकमा खटाउने गरेको छ ।